
नेपालमा आएको भीषण बाढीको असर चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्याइरोङ) काउन्टीमा समेत गम्भीर रूपमा परेको छ। चिनियाँ अधिकारीहरूले बुधबार साँझ दिएको जानकारीअनुसार बाढी र लेदोका कारण कम्तीमा ३ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी मानिस बेपत्ता भएका छन्।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। उद्धारका लागि खोजी कुकुर, जीवन खोजी उपकरण तथा इन्फ्लेटेबल बोटसहित करिब ६०० जना अग्निनियन्त्रक परिचालन गरिएको छ। चीन सरकारले तत्काल उद्धार तथा राहतका लागि करिब १ करोड ७० लाख अमेरिकी डलर बराबरको प्राकृतिक विपद् राहत कोषसमेत विनियोजन गरेको जनाएको छ।
बाढीसँगै आएको ठूलो मात्राको लेदोका कारण सडक अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको छ। सडक खुलाउन लोडर र एक्स्क्याभेटर प्रयोग भइरहेका छन्। निरन्तर वर्षा तथा पहिरोको जोखिमका कारण केही उद्धार टोलीलाई कमान्ड सेन्टरमै तयारी अवस्थामा राखिएको अधिकारीहरूले बताएका छन्।


प्रत्यक्षदर्शीका अनुसार केही क्षेत्रमा करिब १.५ मिटर अर्थात् पाँच फिटसम्म बाक्लो लेदो जमेको छ। बुधबार बिहान आएको लेदोले केरुङ सीमा बन्दरगाहसमेत पूर्ण रूपमा ढाकेको छ। बन्दरगाहभित्र रहेका मानिसहरूसँग अहिलेसम्म सम्पर्क स्थापित हुन नसकेको अधिकारीहरूले बताएका छन्।
उद्धार टोली साँझ ग्याइरोङ काउन्टीको एक बस्तीमा पुग्न सफल भएको छ भने अन्य प्रभावित क्षेत्रमा पुग्ने प्रयास जारी छ। केरुङमा स्थायी बासिन्दाको संख्या २० हजारभन्दा कम भए पनि निर्माण तथा अन्य क्षेत्रमा कार्यरत प्रवासी मजदुरको संख्या थप हुन सक्ने भएकाले बेपत्ताको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।































