विद्युतमा लगाइएको कर खारेजीको माग गर्दै अत्तरियामा उज्यालो नेपालको हस्ताक्षर अभियान

Image
Nisarga Hospital

अत्तरियाः विद्युतमा लगाइएको कर खारेज गर्नुपर्ने मागसहित उज्यालो नेपाल पार्टीले सुदूरपश्चिममा हस्ताक्षर अभियानलाई तीव्रता दिएको छ। धनगढीमा भदौ ४ गतेदेखि सञ्चालन हुँदै आएको अभियान आजदेखि कैलालीको अत्तरियामा पनि सुरु गरिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विद्युत् महसुल उठाउनुपर्ने तथा सरकारले विद्युतमा लगाएको कर खारेज गर्नुपर्ने माग गर्दै पार्टीले देशव्यापी रूपमा हस्ताक्षर संकलन गरिरहेको जनाएको छ। विद्युत् तथा इन्डक्सनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा उल्टै कर लगाइनु उचित नभएको पार्टीको भनाइ छ।

उज्यालो नेपाल पार्टीका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष दिलीप आचार्यले पार्टीको केन्द्रीय निर्णयअनुसार सुदूरपश्चिमका विभिन्न स्थानमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको बताए। उनका अनुसार विद्युत् प्रयोगलाई सहज र सर्वसुलभ बनाउन राज्यले कर घटाउने वा खारेज गर्ने नीति लिन आवश्यक छ।

पार्टीले विद्युत्लाई स्वच्छ तथा वैकल्पिक ऊर्जाका रूपमा प्रवर्द्धन गर्दै सर्वसाधारणको पहुँच बढाउनुपर्नेमा जोड दिएको छ। अभियानमार्फत संकलन गरिएका हस्ताक्षर सम्बन्धित निकायमा बुझाएर आफ्ना माग सम्बोधनका लागि दबाब दिने तयारी गरिएको पार्टीले जनाएको छ।

उज्यालो नेपाल पार्टीले यस अभियानको सुरुआत भदौ १ गते काठमाडौंको माइतीघरबाट गरेको थियो। त्यसपछि देशका विभिन्न स्थानमा अभियान विस्तार गर्दै सुदूरपश्चिममा समेत हस्ताक्षर संकलनलाई अघि बढाइएको हो।