
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। बाढीपछि पाँच जना जापानी नागरिक सम्पर्कविहीन भएको खबरले आफूलाई अत्यन्त चिन्तित बनाएको उनले सामाजिक सञ्जाल एक्समार्फत बताएकी हुन्।

ताकाइचीले बाढीबाट प्रभावित नेपाली नागरिकप्रति समवेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग दुःखको यस घडीमा जापानको साथ रहेको बताएकी छन्। स्थानीय सञ्चारमाध्यममा पाँच जापानी नागरिक बेपत्ता भएको समाचार सार्वजनिक भएपछि उनीहरूको अवस्थाबारे आफू गम्भीर रूपमा चिन्तित भएको उनले उल्लेख गरेकी छन्।
नेपालस्थित जापानी दूतावासले बेपत्ता नागरिकसँग सम्पर्क स्थापित गर्न निरन्तर प्रयास गरिरहेको भए पनि हालसम्म सफल हुन नसकेको ताकाइचीले जानकारी दिएकी छन्। उनले खोजी तथा उद्धार कार्यमा सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेकी छन्।


ताकाइचीले सामाजिक सञ्जालमार्फत बेपत्ता नागरिकको सुरक्षा वा अवस्थाबारे जानकारी भएका व्यक्तिलाई नेपालस्थित जापानी दूतावासमा खबर गर्न अपिल गरेकी छन्। दूतावासमा सम्पर्कका लागि +९७७-१-४५२६-६८० नम्बरसमेत उपलब्ध गराइएको छ।
उनले नेपालमा रहेका आफ्ना नागरिक, नेपाली जनता तथा अन्य विदेशी नागरिकको सुरक्षाको कामना गर्दै विपद्को यस कठिन समयमा सबैको अमूल्य जीवन सुरक्षित रहोस् भन्ने प्रार्थना गरेकी छन्।































