
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा प्रभावित नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि करिब १९ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

आइएफआरसीले १२ लाख अमेरिकी डलर अर्थात् करिब १८ करोड ९६ लाख २२ हजार रुपैयाँ तत्काल मानवीय सहायता उपलब्ध गराउने जनाएको हो। रेडक्रसका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा परिचालन भई खोज, उद्धार र राहत वितरणमा सक्रिय रहेको महासङ्घले जनाएको छ।
आइएफआरसीका महासचिव जगन चापागाईंले बाढी प्रभावित क्षेत्रमा तत्काल मानवीय सहायता पुर्याउन तथा विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिएका छन्।


उनका अनुसार आइएफआरसी नेपाल रेडक्रस र सम्बन्धित राष्ट्रिय निकायसँग समन्वय गर्दै आवश्यकताअनुसार समुदायमा थप सहयोग परिचालन गर्न तयार रहेको छ। मानवीय सहायता निरन्तर जारी रहने उनले बताएका छन्।
महासचिव चापागाईंले प्रभावित समुदायमा रेडक्रसका स्वयंसेवकहरू प्रारम्भिक राहत तथा सहयोगका लागि निरन्तर खटिरहेको उल्लेख गर्दै बाढीबाट ठूलो जनधनको क्षति, मानवीय मृत्यु तथा बेपत्ताको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै विपद्को यस कठिन समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।































