
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीका कारण सञ्चालनमा रहेका १२ वटा उत्पादन केन्द्र बन्द हुँदा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

बाढीले निर्माणाधीन १५ जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ। ती आयोजनाको कुल क्षमता ४७० मेगावाट रहेको प्राधिकरणको प्रारम्भिक विवरण छ। यता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी ७०० मेगावाटभन्दा बढी क्षमताका आयोजना प्रभावित भएको जनाएको छ।
बाढीबाट आयोजनाका बाँध, हेडवक्र्स, पावरहाउस, पहुँचमार्ग, प्रसारण संरचना तथा निर्माण सामग्रीमा क्षति पुगेको छ। माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा क्षति हुँदा प्रत्यक्ष संरचना सुरक्षित रहेका कतिपय आयोजना पनि राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएका छन्।


बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा कार्यरत दर्जनौँ कर्मचारी तथा कामदारसमेत सम्पर्कविहीन भएका छन्। रसुवागढी, त्रिशूली–३ ‘बी’, माथिल्लो त्रिशूली–३ ए, चिलिमेलगायत आयोजनामा कार्यरत कर्मचारी तथा कामदारको अवस्था अझै यकिन हुन सकेको छैन।
प्रसारणतर्फ त्रिशूलीस्थित २२० केभी ३ ‘बी’ हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। चिलिमे २२० केभी हब टावर तथा विभिन्न १३२ र ६६ केभी प्रसारण लाइनमा समेत अवरोध आएको छ।
बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा बन्द छ भने नुवाकोट, धादिङ र गोरखामा आंशिक असर परेको छ। प्राधिकरणले डोजरमार्फत लेदो हटाउने, क्षति पहिचान गर्ने तथा वैकल्पिक प्रणालीबाट विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास तीव्र बनाएको जनाएको छ। क्षतिको पूर्ण विवरण भने स्थलगत मूल्यांकनपछि मात्र यकिन हुने बताइएको छ।































