
बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका भगवती मन्दिरमा आज मुख्य पूजा तथा मेला लागिरहेको छ। हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य मेला लाग्ने परम्परा रहेको छ। दर्शनार्थीको चापलाई मध्यनजर गर्दै यस वर्ष भदौ १ गतेदेखि नै पूजा सुरु गरिएको मन्दिरका पुजारी नेत्र पाध्यायले जानकारी दिए।

जनैपूर्णिमाका अवसरमा बडीमालिकासँगै बुढीनन्दा, बडालेखलगायत दर्जनभन्दा बढी धार्मिक शक्तिपीठमा समेत पूजा हुने गर्दछ। परम्पराअनुसार चतुर्दशीका दिन बडीमालिका माताको पूजा गरी तल झर्ने र जनैपूर्णिमाको दिन त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिरमा पूजाआजा गर्ने चलन रहेको छ।
समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको बडीमालिकामा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन्। बाजुरा, डोटी, कालिकोट र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत पुगिसकेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बताए।

यस वर्ष दर्शनार्थीको संख्या अझ बढ्ने अनुमान गरिएको छ। नेपाली सेनाले प्यागोडा शैलीमा नयाँ मन्दिर निर्माण गरेपछि धार्मिक तथा पर्यटकीय आकर्षण थप बढेको स्थानीयको भनाइ छ।

मेला क्षेत्रको सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए। भिरालो भूगोल र लेक लाग्ने समस्याबाहेक अन्य समस्या नआउने उनको भनाइ छ।
यसैबीच बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएपछि तीर्थयात्रीलाई सञ्चार तथा इन्टरनेट प्रयोगमा सहज भएको छ। परिवारसँग सम्पर्क, सूचना आदान–प्रदान तथा आपत्कालीन अवस्थामा सुरक्षा निकायसँग समन्वय गर्न फोरजी सेवाले महत्वपूर्ण सहयोग पुगेको अधिकारीहरूले बताएका छन्।
प्राकृतिक सुन्दरताले भरिपूर्ण बडीमालिकामा २२ पाटन, त्रिवेणी, विष्णुपानी, धर्मद्वारलगायत आकर्षक स्थल छन्। हिमाली दृश्य, रंगीचंगी फूल, दुर्लभ वन्यजन्तु तथा धार्मिक किंवदन्तीका कारण पछिल्ला वर्षमा यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ।































