बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि २० हेलिकप्टर स्ट्यान्डबाइमा

Image
Nisarga Hospital

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन २० वटा हेलिकप्टर स्ट्यान्डबाइ अवस्थामा राखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी)मार्फत बिहीबार बिहान साढे ६ बजेदेखि ती हेलिकप्टर तयारी अवस्थामा राखिएको हो।

CP Hospital Dhangadhi

यसअघि नै बाढी प्रभावित क्षेत्र आसपास थप १० वटा हेलिकप्टर परिचालन भइसकेका छन्। तत्काल उद्धार आवश्यक परे स्ट्यान्डबाइमा रहेका हेलिकप्टरसमेत आवश्यकताअनुसार परिचालन गरिने जनाइएको छ।

प्रधानमन्त्री कार्यालयको हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा उद्धार आवश्यक पर्ने क्षेत्र पहिचान गरी प्राथमिकता निर्धारण गरिनेछ। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)को निर्देशनअनुसार सम्बन्धित क्षेत्रमा हवाई उद्धार टोली परिचालन गरिने व्यवस्था मिलाइएको छ।

nawajiwan
Attariya Hospital

फसेका नागरिकको उद्धार, राहत सामग्री ढुवानी तथा तत्काल आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ। प्राप्त सूचनालाई सुरक्षा निकाय, स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्य अघि बढाइनेछ।

एनडीआरआरएमएले उद्धार वा राहत आवश्यक परेका नागरिकलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार थप जोखिमलाई ध्यानमा राख्दै आवश्यक परे थप हवाई साधनसमेत परिचालन गर्न सकिने व्यवस्था गरिएको छ। प्रभावित नागरिकले प्राधिकरणको आधिकारिक पोर्टलमार्फत उद्धार तथा राहतसम्बन्धी मागसमेत पठाउन सक्नेछन्।