
बाढी तथा विपद्बाट प्रभावित नेपाललाई विश्व बैंकले १७ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार उक्त रकम करिब २५ अर्ब नेपाली रुपैयाँ बराबर हो।

विश्व बैंकबाट प्राप्त हुने सहयोगमध्ये १ करोड अमेरिकी डलर तत्काल राहत तथा पुनःस्थापनाका लागि ‘र्यापिड रेस्पोन्स अपरेसन’मार्फत परिचालन गरिनेछ। बाँकी रकम विपद्पछिको पुनःस्थापना तथा आवश्यक क्षेत्रमा खर्च गर्ने गरी परिचालन हुने जनाइएको छ।
सहयोग परिचालनका लागि सरकारले आवश्यक औपचारिक प्रक्रिया पूरा गर्नुपर्नेछ। त्यसका लागि सरकारले संकटकाल घोषणा गरी त्यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने बताइएको छ।


राजपत्रमा सूचना प्रकाशित भएपछि विश्व बैंकले तत्काल राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराउने रकम परिचालन गर्ने प्रक्रिया अघि बढाउनेछ।
भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि नेपाललाई तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि ठूलो आर्थिक स्रोत आवश्यक परेको छ। यसैबीच अन्तर्राष्ट्रिय समुदाय तथा विभिन्न संघसंस्थाले नेपाललाई सहयोग घोषणा गरिरहेका छन्।
विश्व बैंकको प्रस्तावित सहयोगले बाढी प्रभावित क्षेत्रको तत्कालीन राहतसँगै क्षतिग्रस्त पूर्वाधार तथा संरचनाको पुनःस्थापना र पुनर्निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।






























