
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्लो विवरण सार्वजनिक गर्दै विभिन्न देशका पर्यटकसँग सम्पर्क हुन नसकेको जनाएको हो।

बोर्डका अनुसार सबैभन्दा धेरै १७८ भारतीय पर्यटक सम्पर्कविहीन छन्। यस्तै १२७ नेपाली, ६५ अमेरिकी र ५३ युक्रेनी पर्यटकसँग सम्पर्क हुन सकेको छैन।

त्यस्तै मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। सिंगापुरका ९, रुस र जर्मनीका ८/८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक पनि सम्पर्कविहीन छन्।

नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा विभिन्न पर्यटन कम्पनीबाट प्राप्त विवरणका आधारमा तथ्यांक संकलन गरिएको जनाएको छ। सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।































