
चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण देशभरको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। विभिन्न सडकखण्ड अवरुद्ध हुँदा करिब ८ सयदेखि १ हजारसम्म सवारीसाधन फसेका, डुबेका वा बीच बाटोमै रोकिएका छन्।


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार जनैपूर्णिमाका लागि गोसाईंकुण्ड गएका १८ देखि २० वटा यात्रुवाहक बस सम्पर्कविहीन छन्। ती बसमा रहेका यात्रु, चालक तथा कर्मचारीको अवस्थाबारे यकिन जानकारी हुन सकेको छैन।
सिटौलाका अनुसार तीमध्ये तीन जना कर्मचारी मात्र सम्पर्कमा आएको अपुष्ट सूचना छ। यात्रुको अवस्था बुझ्न तथा उद्धारका लागि बुधबार पठाइएको २५–३० जनाको टोली पनि सडक अवरुद्ध भएपछि बीच बाटोबाटै फर्किएको थियो।
बाढीपहिरोका कारण नागढुंगा–मुग्लिनलगायत मुख्य सडक बन्द हुँदा करिब ३०० यात्रुवाहक बससहित ठूलो संख्यामा मालवाहक सवारीसाधन अलपत्र परेका छन्। पोखरा र गोरखाबाट गएका केही सवारीसाधनका यात्रुसँग समेत सम्पर्क टुटेको महासंघले जनाएको छ।
उद्धार तथा राहतका लागि महासंघले आपत्कालीन बैठक बोलाएको छ। स्थानीय प्रशासनसँग समन्वय गरी उद्धारमा सहयोग गर्न व्यवसायी तयार रहेको सिटौलाले बताए। उनले उच्च जोखिमयुक्त क्षेत्रमा प्रशासनसँग समन्वय नगरी सवारी नचलाउन आग्रह गरेका छन्।































