
राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल (NACCSN) ले भोटेकोशी, रसुवा लगायत देशका विभिन्न भागमा हालै आएको बाढीबाट प्रभावित अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको परिवारको सुरक्षा र पहुँचयुक्त राहतका लागि सरकारसँग विशेष अपिल गरेको छ।

संस्थाका अध्यक्ष रमेश कुमार बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीका कारण धेरै परिवारले ठूलो क्षति, विस्थापन र अनिश्चितताको सामना गर्नुपरेको उल्लेख गरिएको छ। विपद्को समयमा अपाङ्गता भएका व्यक्तिहरू सुरक्षित उद्धार, पहुँचयुक्त सेवा, स्वास्थ्य र आवश्यक सहायक सामग्रीबाट वञ्चित हुने जोखिम बढी हुनेतर्फ संस्थाले गम्भीर ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय, विकास साझेदार र मानवीय संस्थाहरूलाई राहत तथा उद्धार कार्य गर्दा प्रभावित परिवारको सुरक्षा, मर्यादा र संरक्षण सुनिश्चित गर्न आग्रह गरिएको छ।

यसका साथै, राहत केन्द्र र अस्थायी आश्रयस्थलहरूलाई अपाङ्गता मैत्री एवं पहुँचयुक्त बनाउन, औषधि, व्यक्तिगत सहयोग र पहुँचयुक्त सूचनाको तत्काल व्यवस्था गर्न माग गरिएको छ। राहत, पुनर्स्थापना र पुनर्निर्माणका हरेक चरणमा अपाङ्गता भएका व्यक्ति र उनीहरूका प्रतिनिधिमूलक संस्थाहरूको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ, “विपद्को समयमा पनि अपाङ्गता भएका व्यक्तिलाई पछाडि नछोडौं, सबैका लागि सुरक्षित र मर्यादित राहत सुनिश्चित गरौं।”































