रसुवा बाढीपछि सुदूरपश्चिमका १०१ जना सम्पर्कविहीन, ५ सुरक्षाकर्मीसमेत

Image
Nisarga Hospital

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका १०१ जना व्यक्ति सम्पर्कविहीन भएका छन्। बिहीबार साँझ ६ बजेसम्म प्राप्त विवरणअनुसार कञ्चनपुरका २९, कैलालीका ३१, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका ४, दार्चुलाका ३, डोटी र बझाङका २–२ तथा अछामका एक जना सम्पर्कविहीन छन्।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार सम्पर्कविहीन हुनेमा पाँच जना सुरक्षाकर्मीसमेत छन्। उनीहरूमध्ये चार जना नेपाल प्रहरी र एक जना सशस्त्र प्रहरीका जवान रहेका छन्।

प्रहरीका अनुसार आफन्तले सम्बन्धित निकायमा दिएको सूचनाका आधारमा सम्पर्कविहीन व्यक्तिको विवरण संकलन गरिएको हो। रसुवामा स्थापना गरिएको विपद्सम्बन्धी सूचना केन्द्रबाट प्राप्त विवरणलाई आधार बनाएर सुदूरपश्चिमका नागरिकको तथ्याङ्क तयार गरिएको प्रहरीले जनाएको छ।

nawajiwan
Attariya Hospital

सम्पर्कविहीनमध्ये केही रोजगारी तथा निर्माण कार्यका लागि रसुवा पुगेका थिए भने केही गोसाइँकुण्ड यात्राका क्रममा त्यहाँ पुगेको प्रारम्भिक विवरण छ।

एसएसपी विष्टका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा टोली परिचालन भइरहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीको भूमिका भने समन्वयात्मक रहेको उनले बताए।

प्रहरीले सम्पर्कविहीन भनिएका व्यक्तिमध्ये कोही सम्पर्कमा आएमा वा खोजीका क्रममा अवस्था पुष्टि भए विवरण अद्यावधिक गरिने जनाएको छ। अहिले रसुवा क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन भएकाले सुदूरपश्चिमबाट छुट्टै टोली पठाउने अवस्था नरहेको प्रहरीको भनाइ छ।