
नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार कैलाश मानसरोवर यात्रामा रहेका करिब २०० भारतीयले उद्धारका लागि अनुरोध गरेका छन्।

त्रिशूली–१ जलविद्युत् आयोजनाका ७३, टिमुरेका पश्चिम बंगालका ३२, केरलाका ३३ तथा विभिन्न राज्यका अन्य नागरिक सम्पर्कविहीन छन्। सद्गुरुको ईशा फाउन्डेसनको टोलीसमेत सम्पर्कविहीन रहेको जनाइएको छ। तमिलनाडुका २१ जनाको भने उद्धार गरिएको छ। चीनतर्फको भूभागमा समेत केही भारतीय फसेका छन्। प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको मन्त्रालयले जनाएको छ।

भारतले राहत सामग्रीसहित दुई विमान नेपाल पठाएको छ। आपत्कालीन समन्वयका लागि नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा नियन्त्रण कक्ष स्थापना गरिएको छ। काठमाडौंस्थित भारतीय दूतावासले उद्धार तथा सहयोगका लागि दुई हटलाइन नम्बर सार्वजनिक गरेको छ। नेपाल पर्यटन बोर्डले पनि उद्धार समन्वयका लागि टोल फ्री १२३४ र हटलाइन ११४४ सञ्चालनमा ल्याएको छ। भोटेकोशी बाढीबाट नेपालमा ठूलो जनधन तथा भौतिक क्षति भएको छ।
































