आज जनैपूर्णिमा: जनै फेर्ने, रक्षाबन्धन बाँध्ने र क्वाँटी खाने पर्व देशभर उल्लासका साथ मनाइँदै

Image
Nisarga Hospital

देशभर आज नव यज्ञोपवीत (जनै) धारण तथा रक्षाबन्धन बाँधेर जनैपूर्णिमा पर्व धार्मिक एवं सांस्कृतिक उत्साहका साथ मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले बिहानैदेखि नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको नयाँ जनै र रक्षासूत्र धारण गर्ने परम्परा रहेको छ।

CP Hospital Dhangadhi

धार्मिक मान्यताअनुसार जप, तप, पूजा तथा मन्त्रोच्चारणबाट मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो दाहिने नाडीमा बाँध्दा नकारात्मक शक्तिबाट सुरक्षा प्राप्त हुने विश्वास छ। ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले आजकै दिन पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने विधान रहेको छ।

पूर्णिमाका दिन स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी नयाँ जनै फेर्ने गरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यलगायत ऋषिहरूको पूजा तथा तर्पण गरिने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ।

nawajiwan
Attariya Hospital

जनैपूर्णिमाको अवसरमा पशुपतिनाथ, अशोकविनायकलगायत देशभरका मठमन्दिर तथा धार्मिक स्थलमा भक्तजनको भीड लाग्ने गर्छ। मणिचूड, गोसाइँकुण्ड, कुम्भेश्वर, पाँचपोखरी, जनकपुरधाम, धनुषसागर, गङ्गासागर, दानसाधु र त्रिवेणीधामलगायत स्थानमा पनि विशेष मेला लाग्ने परम्परा छ।

यसै दिन एघार थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन पनि छ। क्वाँटीले शरीरलाई ऊर्जा प्रदान गर्ने र वर्षायामको चिसोबाट जोगाउन सहयोग पुग्ने विश्वास गरिन्छ। तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर प्रेम, सद्भाव र पारिवारिक सम्बन्धको पर्वका रूपमा रक्षाबन्धन मनाउने गर्छन्।