
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल उद्धार गरेको छ। प्रतिकूल मौसम, बाढीको तीव्र बहाव र सुरुङभित्रको अत्यन्त जोखिमपूर्ण अवस्थाका बीच सेनाले चुनौतीपूर्ण अभियान सञ्चालन गर्दै उनीहरूलाई सुरक्षित बाहिर निकालेको हो।

नेपाली सेनाका अनुसार सुरुङभित्र अझै १०० जनाभन्दा बढी व्यक्ति फसेको आशंका रहेकाले उनीहरूको उद्धारका लागि टोली निरन्तर खटिएको छ। जटिल भौगोलिक अवस्था र बाढीको जोखिमबीच उद्धार कार्यलाई तीव्र बनाइएको सेनाले जनाएको छ।
सुरुङभित्रको उद्धार अभियानका लागि ‘नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली)’ बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा सैन्य टोली परिचालन गरिएको छ। टोलीले जोखिमका बाबजुद सुरुङभित्र प्रवेश गरी फसेका मजदुर तथा स्थानीयलाई सुरक्षित स्थानतर्फ ल्याउने कार्य गरिरहेको छ।


यसैबीच, बाढीको उच्च जोखिममा रहेका रसुवाका अन्य विकट क्षेत्रमा पनि नेपाली सेनाले उद्धार तथा स्थानान्तरण अभियानलाई निरन्तरता दिएको छ। सिक्युआरटी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा परिचालित टोलीले स्याफ्रुबेँसी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेँसीलगायतका विभिन्न स्थानबाट थप ५३३ जनालाई सुरक्षित स्थानमा सारेको छ।
नेपाली सेनाका अनुसार बिहीबार अबेरसम्म सुरुङभित्रका मजदुर तथा रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट गरी कुल ८८३ जनाको उद्धार गरिएको छ। बाढीको जोखिमबीच सेनाले उच्च साहस, तदारुकता र समर्पणका साथ उद्धार अभियान जारी राखेको जनाएको छ।































