‎रसुवाको बाढीमा सम्पर्कविहीन सिगासका नागरिकको विवरण संकलन गर्दै गाउँपालिका

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi
Attariya Hospital

रसुवाको भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीपछि विभिन्न स्थानमा ठूलो धनजनको क्षति हुनुका साथै केही नागरिक सम्पर्कविहीन तथा बेपत्ता भएको खबर प्राप्त भएपछि बैतडीको सिगास गाउँपालिकाले आफ्ना नागरिकको अवस्थाबारे विवरण संकलन गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

‎भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण विभिन्न स्थानमा रहेका केही नागरिक अलपत्र तथा सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

‎बाढीका कारण सिगास गाउँपालिका अन्तर्गत स्थायी ठेगाना भएका कुनै नागरिक अलपत्र परेको, सम्पर्कविहीन भएको वा आफन्तसँग सम्पर्क हुन नसकेको अवस्था भएमा तत्काल नजिकको वडा कार्यालय वा सिगास गाउँपालिकाको कार्यालयमा जानकारी गराउन गाउँपालिकाले एक सूचना जारी गर्दै सम्बन्धित परिवारजन, आफन्त तथा सरोकारवालामा  अनुरोध गरेको छ ।

‎गाउँपालिकाले विवरण उपलब्ध गराउँदा सम्भव भएसम्म सम्बन्धित व्यक्तिको नाम र थर, स्थायी ठेगाना तथा वडा नम्बर, हाल बसोबास गरिरहेको स्थान, सम्पर्कविहीन वा अलपत्र परेको स्थान, अन्तिम पटक सम्पर्क भएको मिति र समय, सम्पर्क नम्बर तथा परिवारजन वा आफन्तको नाम र सम्पर्क नम्बर उपलब्ध गराइदिन आग्रह गरेको छ ।

‎सम्पर्कविहीन नागरिकको खोजी, उद्धार तथा आवश्यक समन्वयलाई प्रभावकारी बनाउन सूचना संकलनलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

‎यसका लागि गाउँपालिकाले गाउँपालिका अध्यक्ष हरि सिंह धामी, प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर बोहरा, विपद् सम्पर्क व्यक्ति हरि सिंह साउद तथा सम्बन्धित वडाका अध्यक्षहरूलाई सम्पर्क गर्न सकिने जनाएको छ ।

‎गाउँपालिकाले विपद्को यस कठिन परिस्थितिमा सम्बन्धित सबैलाई संयमित रहन, आवश्यक सूचना तत्काल उपलब्ध गराउन र खोज तथा उद्धार कार्यमा सहयोग गर्न समेत अपिल गरेको छ ।

nawajiwan