
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका १४० जनामध्ये १० जना सकुशल फेला परेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहानसम्म कञ्चनपुर र डडेल्धुराका १० जना सम्पर्कमा आएका हुन्।

सकुशल भेटिनेमा कञ्चनपुरका सुनिल चौधरी, चन्दा जोशी, अजय राना, सुरेश राना, सन्तोष राना, नवीन चौधरी, आदर्श चौधरी, राकेश भट्ट, प्रदीप चन्द तथा डडेल्धुराका सुनिल बुढामगर रहेका छन्। उनीहरूमध्ये सात जना जलविद्युत् आयोजनामा कार्यरत मजदुर, एक जना नर्सिङ विद्यार्थी तथा अन्य दुई जना रहेको बताइएको छ।

१० जना सकुशल भेटिएसँगै रसुवा बाढीमा सम्पर्कविहीन सुदूरपश्चिमका नागरिकको संख्या १३० मा झरेको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार कैलालीका ४९, कञ्चनपुरका ३४, बाजुराका १४, डडेल्धुराका १७, बैतडीका आठ, दार्चुलाका चार, डोटी र बझाङका दुई–दुई तथा अछामका एक जना अझै सम्पर्कविहीन छन्।

कामको सिलसिलामा रसुवा पुगेका सुदूरपश्चिमका मजदुर, कर्मचारी तथा सुरक्षाकर्मी भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका थिए। उनीहरूको अवस्था पत्ता लगाउन सम्बन्धित निकाय तथा सुरक्षा टोलीले खोजी र उद्धारलाई निरन्तरता दिइरहेका छन्। पछिल्लो विवरणअनुसार सकुशल भेटिएका व्यक्तिहरू परिवारको सम्पर्कमा पुगेपछि आफन्तमा केही राहत मिलेको छ। तर ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी कार्यलाई तीव्र बनाउनुपर्ने अवस्था छ।































