
सुदूरपश्चिम प्रदेश सरकारले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री ओमबिक्रम भाटले जानकारी दिनुभयो।

बैठकले मुख्यमन्त्री खगराज भट्टसहित प्रदेशका सबै मन्त्रीले एक महिनाको पारिश्रमिकसमेत बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ। साथै, प्रभावित क्षेत्रमा उपचार तथा स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय गरिएको मन्त्री भाटले बताउनुभयो।

यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आयोगको सदस्यमा नेकपा एमालेका तर्फबाट हिरा चन्द र गंगादत्त जोशीलाई नियुक्त गर्ने निर्णयसमेत गरिएको प्रदेश सरकारले जनाएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट राहत र उद्धारका लागि सहयोग घोषणा भइरहेको छ। सुदूरपश्चिम सरकारले आफ्नो प्रदेशका नागरिकसमेत प्रभावित भएको अवस्थालाई ध्यानमा राख्दै राहत तथा स्वास्थ्य सहायता उपलब्ध गराउने निर्णय गरेको हो।































