भोटेकोशी बाढीले बगाएका आशंकामा भारतमा सात शव फेला

Image
Nisarga Hospital

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बगाएका सात शव भारतको उत्तरप्रदेशस्थित महाराजगञ्ज र कुशीनगर जिल्लामा फेला परेका छन्। बीबीसी हिन्दीका अनुसार महाराजगञ्जको गण्डक नदीमा चार तथा कुशीनगरमा तीन शव फेला परेका हुन्। फेला परेका शवमा पाँच महिला र दुई पुरुष रहेका छन्।

CP Hospital Dhangadhi

भारतीय अधिकारीहरूले नेपालमा आएको बाढीका क्रममा ती शव नदीको तीव्र बहावसँगै भारततर्फ बगेर आएको हुनसक्ने आशंका गरेका छन्। सशस्त्र सीमा बल (एसएसबी) का उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा शवहरू बगिरहेको देखेपछि मोटरबोटको सहयोगमा बाहिर निकालेका थिए।

महाराजगञ्जको निचलौल क्षेत्रमा फेला परेका चार शवमा तीन महिला र एक पुरुष रहेको उप–जिल्लाधिकारी सिद्धार्थ गुप्ताले जानकारी दिएका छन्। उनका अनुसार शव नेपालबाट बगेर आएको उच्च सम्भावना रहेको छ।

nawajiwan
Attariya Hospital

त्यस्तै, कुशीनगरमा फेला परेका तीन शवमा दुई महिला र एक पुरुष छन्। ती शवलाई सुरक्षित रूपमा फ्रीजरमा राखेर पहिचानको प्रक्रिया अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

भारतीय सुरक्षा निकाय एसएसबी, एसडीआरएफ तथा आरआरटी टोलीले नदी तथा आसपासका क्षेत्रमा निगरानी बढाएका छन्। महाराजगञ्ज र कुशीनगर प्रशासनले मृतकको पहिचान तथा आफन्तको खोजीका लागि नेपाली प्रशासनसँग समन्वय गरिरहेको जनाएको छ। पछिल्लो घटनाले भोटेकोशी बाढीको प्रभाव सीमापारिसम्म पुगेको देखाएको छ। नेपालमा बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता रहेकाले भारतमा भेटिएका शव उनीहरूकै हुनसक्ने आशंका गरिएको छ। यद्यपि पहिचान पुष्टि हुन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।