
चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनको लोङचाङ सहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार भूकम्पबाट हालसम्म मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

नेपाल–तिब्बत सीमा नजिकै विनाशकारी बाढी तथा पहिरोपछि उद्धार र राहत कार्य जारी रहेकै बेला भूकम्प गएको हो। उक्त विपद्मा सयौँको मृत्यु हुनुका साथै धेरै व्यक्ति अझै बेपत्ता छन्। यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतमा जारी उद्धार कार्यबारे शीर्ष अधिकारीसँग बैठक गरेका छन्। अधिकारीहरूले हिमताल, हिमनदी तथा भौगर्भिक विपद्का कारण जोखिम कायमै रहेको बताएका छन्।

सीमा क्षेत्रमा बनेको नयाँ ताल फुट्न सक्ने चेतावनीसँगै नेपालले पनि प्रभावित क्षेत्रमा बाढीको नयाँ चेतावनी जारी गरेको छ। जोखिमपूर्ण क्षेत्रका बासिन्दा र उद्धारकर्मीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
































