केरुङ बाढीपछि चिनियाँ प्रधानमन्त्री ली प्रभावित क्षेत्रमा, उद्धार तीव्र पार्न निर्देशन

Image
Nisarga Hospital

नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढीपहिरो गएको भोलिपल्टै चिनियाँ प्रधानमन्त्री ली छ्याङ प्रभावित क्षेत्रमा पुगेका छन्। उनले शिचाङ स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार तथा आपत्कालीन राहत अभियानबारे जानकारी लिएका हुन्।

CP Hospital Dhangadhi

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङको निर्देशनपछि प्रधानमन्त्री ली बिहीबार ग्यिरोङ पुगेका हुन्। उनले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीसँग भेट गर्नुका साथै विस्थापित नागरिकको अवस्थाबारे जानकारी लिएका थिए।

Attariya Hospital

लीले विपद्का बेला मानिसको जीवनलाई सर्वोच्च प्राथमिकतामा राख्न निर्देशन दिँदै उद्धार तथा आपत्कालीन प्रतिकार्यमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन्। उनले प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, विस्थापितको व्यवस्थापन र जोखिम न्यूनीकरणका कामलाई तीव्र बनाउन निर्देशन दिएका छन्।

nawajiwan

बुधबार बिहान ग्यिरोङ सीमा बन्दरगाह क्षेत्रमा आएको भीषण बाढीपहिरोले सडक, विद्युत् तथा सञ्चार संरचनामा ठूलो क्षति पुर्‍याएको छ। चिनियाँ पक्षका अनुसार केरुङ क्षेत्रमा हालसम्म तीन जनाको मृत्यु पुष्टि भएको छ भने सयौँ मानिस सम्पर्कविहीन रहेको बताइएको छ। बाढीपहिरोपछि चीनले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ।