
आज दिउँसो देशभर सामान्यतया बादल लाग्ने मौसम पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्नेछ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।


लगातार तथा भारी वर्षा हुनसक्ने भएकाले नदी, खोला तथा खोल्सानालामा पानीको बहाव बढ्न सक्ने जोखिम रहेको छ। पहाडी तथा हिमाली क्षेत्रमा पहिरो र भू–क्षयको सम्भावनासमेत रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
विशेषगरी नदी तथा खोलानाला आसपास, कमजोर भू–भाग र बाढी तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको अवस्था बुझेर सुरक्षित रहन आवश्यक देखिएको छ।































