
रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन भएकी छन्। उनी एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको बेत्रावती शाखामा फिल्ड अफिसरका रूपमा कार्यरत थिइन्।
परिवारका अनुसार बाढी आएको दिन बिहान ११ः२९ बजेसम्म उनको मोबाइल लोकेसन नुवाकोटको विदुर नगरपालिका–जितेटार क्षेत्रमा देखिएको थियो। त्यसपछि मोबाइल बन्द भएकाले अहिलेसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
बाढीका कारण पुष्पा कार्यरत शाखा कार्यालय र उनी बस्दै आएको घरसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ। बाढीको सूचना पाएपछि कार्यालय सहयोगी सुष्मा अधिकारी बच्चासहित सुरक्षित स्थानमा पुगेकी थिइन्। तर, पुष्पाले खाना खाएर निस्कने भन्दै कार्यालयमै बसेको परिवारले जनाएको छ।
शाखा प्रमुख शारदा पाण्डे पनि अहिलेसम्म सम्पर्कमा आएकी छैनन्। पुष्पा करिब एक वर्षदेखि लघुवित्तमा कार्यरत थिइन् भने जागिरसँगै स्नातक तहको अध्ययन गरिरहेकी थिइन्। बाढी आउनुअघि अघिल्लो साँझ उनले परिवारसँग फोनमा कुराकानी गरेकी थिइन्।
खोजीका लागि परिवारको आग्रह :
- सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई तत्काल खोजी तीव्र पार्न आग्रह।
- पुष्पाका दाइ रोशन शाही खोजीका लागि धनगढीबाट काठमाडौं पुगेका छन्।
- काठमाडौं हुँदै नुवाकोट पुगेर खोजीमा सहभागी हुने परिवारको तयारी।
- पहिचान हुन बाँकी शवमा समेत पुष्पाको खोजी गरिदिन आग्रह।
विभिन्न स्थानबाट शव ल्याइरहेको खबरसँगै परिवारमा चिन्ता थपिएको छ। परिवारले पुष्पाको अवस्था पत्ता लगाउन सबै सम्बन्धित निकायसँग सहयोगको अपिल गरेको छ।

































