
नेपाल–चीन सीमावर्ती तिब्बतको केरुङ नाकामा आएको बाढी तथा पहिरोमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता भएका छन्। प्राकृतिक विपत्तिपछि चिनियाँ अधिकारीहरूले बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि व्यापक अभियान सञ्चालन गरेका छन्।

समाचार संस्था सिन्ह्वाका अनुसार शनिबार बिहान ९ः३० बजेदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरको टोलीले विपद्ग्रस्त मुख्य क्षेत्रमा खोजी कार्यलाई तीव्र बनाएको छ। उद्धार टोलीले हेभी मेसिनरी उपकरण तथा ठूलो संख्यामा जनशक्ति परिचालन गरी भग्नावशेष तथा प्रभावित क्षेत्रमा घाइते र बेपत्ताको खोजी गरिरहेको जनाएको छ।
नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाकामध्येको एक केरुङमा भएको यस प्राकृतिक विपत्तिले ठूलो मानवीय क्षति पुर्याएको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रासको अवस्था रहेको बताइएको छ।


चिनियाँ अधिकारीहरूले उद्धार कार्यलाई निरन्तरता दिइरहेको र प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरिएको जनाएका छन्। यद्यपि घटनाको क्षतिको विस्तृत विवरण भने अझै सार्वजनिक हुन बाँकी छ। बेपत्ताको संख्या ठूलो रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ। अहिले उद्धार टोलीको मुख्य ध्यान बेपत्ताको खोजी र सम्भावित जीवितको उद्धारमा केन्द्रित रहेको जनाइएको छ।
अनलाईन खबर बाट































