
धनगढीः रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका २८ जना पछिल्लो समय परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि उनीहरूको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको थिएन।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार सम्पर्कमा आउनेमा कैलालीका १८, कञ्चनपुरका ९ र डडेल्धुराका १ जना रहेका छन्। उनीहरू परिवार तथा आफन्तसँग सम्पर्कमा आएपछि बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमेलीको खोजी अभियानमा केही राहत मिलेको प्रहरीले जनाएको छ।
यद्यपि, बाढीपछि सुदूरपश्चिमका अझै १४२ जना सम्पर्कविहीन रहेको एसएसपी बिष्टले जानकारी दिएका छन्। सम्पर्कविहीनमध्ये सबैभन्दा बढी कैलाली र कञ्चनपुरका नागरिक रहेको बताइएको छ।


प्रदेश प्रहरीले सम्पर्कविहीन नागरिकको खोजी तथा अवस्थाबारे जानकारी संकलनका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायसँग समन्वय गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य निरन्तर भइरहेको छ। जोखिमपूर्ण स्थानमा रहेका नागरिकको अवस्था पत्ता लगाउने, परिवारसँग सम्पर्क स्थापित गर्ने तथा आवश्यक परे उद्धार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तलाई उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भए सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ।































