भोटेकोशी बाढीपछि कृष्णपुरका ५ जना सम्पर्कविहीन, अभिभावक खोजीका लागि चितवन र काठमाडौं जाँदै

Image
Nisarga Hospital

कञ्चनपुरः गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ५ जना बासिन्दा सम्पर्कविहीन भएका छन्। नगर प्रमुख हेमराज ओझाका अनुसार वडा नं. ३ का ३० वर्षीय रिकेश कुमार राना, ३१ वर्षीय कालु राना, २२ वर्षीय करेशन राना, वडा नं. ४ का २३ वर्षीय हिक्मतबहादुर पाल र वडा नं. ५ का ३३ वर्षीय रमेशराज जोशी सम्पर्कविहीन छन्।

सम्पर्कविहीनमध्ये रिकेश, कालु र करेशन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए भने हिक्मत र रमेश नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत रहेको नगरपालिकाले जनाएको छ।

लामो समयसम्म सम्पर्कमा नआएपछि उनीहरूको अवस्थाबारे बुझ्न अभिभावकहरू चितवन र काठमाडौं जान इच्छुक देखिएपछि नगरपालिकाले उनीहरूको सम्पूर्ण यात्रा व्यवस्थापन मिलाएको छ। अभिभावकलाई आजै सम्बन्धित स्थानतर्फ पठाउने तयारी गरिएको नगर प्रमुख ओझाले जानकारी दिएका छन्।

नगर प्रमुख ओझाले सम्पर्कविहीन पाँचै जना सकुशल भेटिने विश्वास व्यक्त गर्दै शीघ्र खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन्। उनले पालिकावासीलाई धैर्य राख्न आग्रह गर्दै बेपत्ता नागरिकको खोजीमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।

यी पाँच जनाबाहेक पनि बाढी तथा पहिरोका कारण अन्य कोही सम्पर्कविहीन भएको जानकारी भए तत्काल सम्बन्धित वडा जनप्रतिनिधि, नगर प्रमुख वा उपप्रमुखलाई जानकारी गराउन नगरपालिकाले आग्रह गरेको छ।

विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नगर प्रमुख ओझाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, संकटको समयमा सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरेका छन्।

CP Hospital Dhangadhi