
रसुवाः भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरमार्फत त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार उद्धार गरिएकामध्ये ३८ चिनियाँ र ५ भारतीय नागरिक रहेका छन्।

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि संयुक्त टोलीले ‘ड्रिलिङ मेसिन’ लगायतका उपकरण प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास जारी राखेको छ। जटिल भूगोल र प्रतिकूल परिस्थितिका बीच उद्धार अभियानलाई तीव्र पारिएको सेनाले जनाएको छ।

यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाली सेनाका ७ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय निकायसँग समन्वय गरी घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार र शव व्यवस्थापनको काम गरिरहेको जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन र जनशक्ति परिचालन गरिएको सेनाको भनाइ छ।































