
धनगढी: The Twins A Complete Institute of Dance academy को प्रस्तुतिमा आयोजना भइरहेको धनगढी डान्स च्याम्पियनसिप सिजन–५ अन्तर्गत टप–२० छनोट राउन्ड सम्पन्न भएको छ।
टप–२० छनोट राउन्डमा ४१ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धाबाट अनमोल तामाङ र सुनिल पार्की उत्कृष्ट प्रस्तुति अर्थात् बेस्ट पर्फर्मेन्स घोषित भएका छन् भने अस्मिता जोराले बेस्ट पब्लिक च्वाइसको उपाधि प्राप्त गरेकी छन्।
आजको राउन्डबाट सूर्य विक, अनुष्का मिजार, आयुष कठायत, सिम्रन थापा, पियुष जोशी, काजल खड्का र देवकला रावलको प्रतियोगितात्मक यात्रा भने यहीँबाट टुंगिएको छ।
अबको राउन्ड दुई सातापछि आयोजना हुने आयोजकले जनाएको छ। आगामी राउन्डमा टप–१५ छनोट गरिनेछ। प्रतिस्पर्धीहरूलाई भोटिङ र निर्णायकको जजिङका आधारमा अर्को चरणका लागि छनोट गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन तथा संयोजन गुडाकर पनेरुले गरिरहेका छन्। यस वर्षको प्रतियोगितामा गत वर्षको तुलनामा अझै सशक्त र प्रतिभाशाली प्रतिस्पर्धीहरूको सहभागिता रहेको आयोजक केशव बलायरले बताउनुभयो।
कार्यक्रममा मुख्य निर्णायकका रूपमा सन्तोष अवस्थी रहेका थिए। त्यस्तै क्याप्टेन निर्णायक जजका रूपमा क्याप्टेन नरेश बिक, अनिल भण्डारी र एन्जल चौधरी रहेका थिए।
यसैबीच, आज सम्पन्न राउन्डमा सनराइज टेलिभिजनका समाचार संयोजक सुदीप थापा अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले बेस्ट पर्फर्मेन्स र बेस्ट पब्लिक च्वाइस घोषित प्रतिस्पर्धीलाई पुरस्कार तथा ट्रफी वितरण गर्नुभएको थियो।
धनगढीमा नृत्य क्षेत्रका नयाँ प्रतिभालाई अवसर प्रदान गर्दै आएको यस प्रतियोगिताको आगामी राउन्डमा टप–१५ का लागि प्रतिस्पर्धा अझ रोचक र कडा हुने आयोजकले जनाएको छ।

































