
अत्तरियाः सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन धनगढीको ११औँ वार्षिक चुनावी साधारणसभाबाट खगेन्द्रराज पनेरुको प्यानलनै विजयी भएको छ ।

अध्यक्ष पदमा पनेरुले ५४ मत प्राप्त गर्दै प्रतिस्पर्धी श्यामराज जोशीलाई पराजित गरेका हुन् । जोशीले ३८ मत प्राप्त गरे ।
निर्वाचित भएपछि अध्यक्ष पनेरुले पेट्रोलियम व्यवसायीका समस्या समाधान, व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने तथा व्यवसायीको हकहितका लागि आफूले प्राथमिकताका साथ काम गर्ने बताए । उनले आफ्नो प्यानललाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण व्यवसायीप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचनमा व्यक्त प्रतिबद्धता कार्यान्वयन गर्ने बताए ।

पनेरु प्यानलबाट प्रशासन उपाध्यक्षमा टेकबहादुर बोहरा, लेखा उपाध्यक्षमा दीपकबहादुर बिष्ट, महासचिवमा जयशंकर ठाकुर, सचिवमा विवेक बिष्ट र कोषाध्यक्षमा सुमन सापकोटा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा डम्बर खत्री, सुनिल थापा, भवानीप्रसाद जैशी, मोहनसिंह बिष्ट, जेनिसप्रसाद चौधरी, चक्रबहादुर बोहरा र हरिप्रसाद ढकाल निर्वाचित भएका छन् ।
निर्वाचनको परिणाम प्रमुख निर्वाचन अधिकारी अधिवक्ता गम्भीरसिंह ऐरले घोषणा गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष पनेरुले व्यवसायीबीचको एकता कायम गर्दै पेट्रोलियम व्यवसाय क्षेत्रका साझा समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्
































