
भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचनापछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकलाई राहत मिल्ने खबर आएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ।

महाशाखाले आज बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त पछिल्लो जानकारीका आधारमा तत्काल ठूलो बाढीको खतरा नरहेको जनाएको हो।

भोटेकोशी नदीमा बहाव बढेको सूचना आएपछि गरिएको पछिल्लो अनुगमनमा नुवाकोट क्षेत्रमा पानीको सतह केही बढेको देखिए पनि बहाव ठूलो नरहेको महाशाखाले जनाएको छ। सोही अवस्थाका आधारमा रसुवा, नुवाकोट हुँदै धादिङसम्मका नदी तटीय क्षेत्रमा हाल ठूलो बाढीको जोखिम नरहेको निष्कर्ष निकालिएको हो।

यसअघि भोटेकोशीमा नदी सुसाएको र पानीको बहाव बढेको सूचना प्राप्त भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो। पछिल्लो अवस्थापछि तत्काल ठूलो जोखिम नरहे पनि नदी आसपासका नागरिकलाई सतर्क रहन र सम्बन्धित निकायबाट जारी हुने सूचना पछ्याउन आग्रह गरिएको छ।































