
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै उनले राष्ट्रिय शोक र पीडाको समयमा कसैले पनि राजनीति गर्न नहुने बताएका हुन्।

ओलीले विपद्का बेला सबैले उदारतापूर्वक सहयोगको हात अघि बढाउनुपर्ने बताए। नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता हुनुपर्ने भन्दै उनले संघ, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न संघसंस्था तथा परोपकारी व्यक्ति मिलेर काम गर्नुपर्नेमा जोड दिए।

यद्यपि, सरकारले राज्यको सामर्थ्य आफूमा सीमित गरेको आरोप ओलीले लगाए। प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी समन्वय हुन नसकेको भन्दै उनले सरकार ‘अगम्य, अप्राप्य र अदृश्यजस्तो’ भएको टिप्पणी गरे।

सबै दलले श्रेयको होड नगर्ने प्रतिबद्धता जनाए पनि कतिपय निजी संघसंस्थालाई खोज तथा उद्धारमा सहभागी हुन नदिइएको उनले बताए। ओलीले बागमती प्रदेश सरकारले आफ्नै पहलमा उद्धार, राहत र पुनर्निर्माणका काम गरेको भन्दै धन्यवादसमेत दिएका छन्।































