
नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि खटिएको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको छ। तीन दिनदेखि निरन्तर उद्धारमा खटिएको टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने सुरुङ भेट्टाएको प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए।

नेपाली सेना, प्राधिकरण तथा सुरुङ विज्ञ सम्मिलित टोलीले फेला पारेको सुरुङबाट उद्धार विज्ञलाई भित्र पठाएर अवस्थाबारे जानकारी लिने तयारी भइरहेको छ। उक्त सुरुङबाट मानिस प्रवेश गर्न सकिने र फसेकाहरूको उद्धार गर्नसमेत सम्भव हुने बताइएको छ।

यसअघि उद्धार टोलीले सुरुङभित्र हावा पठाउन पाँचवटा ड्रिल प्वाल बनाएको थियो। अक्सिजन पठाउने प्वाल बनेकाले भित्र फसेका कर्मचारी सकुशल रहेको आशा बढेको अधिकारीहरूले बताएका छन्।

सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानेले पनि सुरुङ भेटिएको पुष्टि गर्दै उद्धार प्रयास जारी रहेको बताएका छन्। बाढी गएको दुई दिनपछि शुक्रबारबाट उद्धार सुरु गरिएको थियो। आयोजनाको भूमिगत विद्युत् गृहमा ओभरहलिङका लागि करिब ४०–४२ जना प्राविधिक जनशक्ति कार्यरत रहेको र उनीहरू सुरुङभित्र फसेको अनुमान छ।































