
कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान भरत धानुक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्लाफाँटा नगरपालिका–२ निवासी धानुक आइतबार दिउँसो साढे १२ बजे घरबाट करिब दुई किलोमिटर टाढा जोनापुरस्थित नर्सरी क्षेत्रमा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार धानुक रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दार्चुलामा कार्यरत धानुक केही दिनअघि बिदामा कञ्चनपुरको झलारीस्थित घर आएका थिए। उनी शनिबार साँझदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि खोजतलास गर्ने क्रममा उनी आइतबार मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनास्थलको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। मृतक धानुक विवाहित रहेको र उनका सन्तान नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।































