
विनाशकारी बाढीबाट विद्युत् संरचनामा ठूलो क्षति पुगेपछि रसुवामा विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन नुवाकोट–रसुवा विद्युत् अन्तरसम्बन्ध कायम गर्ने काम अघि बढाइएको छ।

भौगोलिक विकटता, क्षतिग्रस्त पूर्वाधार र प्रतिकूल मौसमका बाबजुद प्राविधिक टोली आवश्यक संरचना निर्माण तथा विद्युत् लाइन जडानमा खटिएका छन्। बाढीबाट क्षतिग्रस्त संरचनाको प्राविधिक मूल्याङ्कन गर्दै मर्मत तथा पुनर्निर्माण पनि सँगसँगै अघि बढाइएको जनाइएको छ।

अत्यावश्यक सेवा सञ्चालन सहज बनाउन प्रभावित क्षेत्रमा वैकल्पिक व्यवस्थामार्फत विद्युत् पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ। विद्युत् आपूर्ति पूर्ण रूपमा सञ्चालनमा नआएसम्म नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउन सम्बन्धित निकायले विभिन्न विकल्पमा काम गरिरहेका छन्।

यसैबीच, रसुवाको खोलापारिको क्षेत्रबाट पानी ल्याउने काम पनि भइरहेको छ। उक्त व्यवस्थाबाट प्रभावित बस्तीमा खानेपानी तथा दैनिक आवश्यकतामा केही सहजता हुने अपेक्षा गरिएको छ। बाढीले अवरुद्ध विद्युत् तथा अन्य पूर्वाधार छिटो सञ्चालन गर्ने उद्देश्यले प्राविधिक टोली चुनौतीपूर्ण अवस्थामा समेत फिल्डमै परिचालित छन्।































