
अत्तरियाः आज मिति २०८३ भदौ १४ गते आइतबारका दिन नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअनुसार सैनिक आवासीय महाविद्यालय, तेघरी कैलालीमा विभिन्न तेक्वान्दो डोजाङका जुनियर खेलाडीहरूको सामूहिक जुनियर ग्रेडिङ कार्यक्रम भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ।

सैनिक आवासीय महाविद्यालय तेघरीको अत्याधुनिक मल्टिपर्पस कभर्ड हलमा आयोजित कार्यक्रममा विभिन्न बेल्ट तहमा रहेका १०५ जना खेलाडीहरूको सहभागिता रहेको थियो। अतरिया तेक्वान्दो डोजाङ, KVN तेक्वान्दो डोजाङ तथा सैनिक आवासीय महाविद्यालय तेक्वान्दो डोजाङलगायतका डोजाङबाट सहभागी खेलाडीहरूले ग्रेडिङमा आफ्नो क्षमता प्रदर्शन गरेका थिए।
कार्यक्रममा सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीका प्रिन्सिपल सिदेश्वर पन्तप्रकाश महाविद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खीलबहादुर राना तथा राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक शेरबहादुर सिंहको विशेष उपस्थिति रहेको थियो। त्तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शिवराज भट्टराई, सैनिक आवासीय महाविद्यालय तेक्वान्दो डोजाङका डोजाङ प्रमुख इन्द्रबहादुर सिंह, तेक्वान्दो प्रशिक्षक तथा परीक्षक सुनील बिष्ट, कैलाली जिल्ला तेक्वान्दो संघका पूर्व सदस्य देव राज भटराइ लगायत तेक्वान्दोका सिनियर खेलाडी, प्रशिक्षक, अभिभावक तथा महाविद्यालयका शिक्षक–कर्मचारीहरूको उपस्थिति रहेको थियो।

ग्रेडिङ कार्यक्रममा खेलाडीहरूले आफ्नो बेल्ट तहअनुसारका बेसिक प्रविधि, किकिङ, पुम्से, आत्मरक्षाका विभिन्न प्रविधि तथा तेक्वान्दोका प्राविधिक पक्षहरू प्रस्तुत गरेका थिए। खेलाडीहरूको उत्साहपूर्ण सहभागिता र अनुशासित प्रदर्शनले कार्यक्रमस्थललाई थप ऊर्जावान बनाएको थियो।
उक्त ग्रेडिङ कार्यक्रममा सैनिक आवासीय महाविद्यालय तेक्वान्दो डोजाङका डोजाङ प्रमुख इन्द्रबहादुर सिंह र सुनील बिष्टले परीक्षकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन केबीएन तेक्वान्दो डोजाङका डोजाङ प्रमुख ध्रुव बोहराले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महाविद्यालयका प्रिन्सिपल सिदेश्वर पन्तप्रकाशले तेक्वान्दो खेल केवल शारीरिक अभ्यास मात्र नभई अनुशासन, आत्मविश्वास, आत्मसंयम, मर्यादा र सकारात्मक सोच विकास गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै खेलाडीहरूको प्रशंसा गर्नुभयो। उहाँले बालबालिकाको व्यक्तित्व विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउँदै तेक्वान्दो जस्तो अनुशासित र मर्यादित खेलको विकासका लागि महाविद्यालयले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूलाई आवश्यक पूर्वाधार उपलब्ध गराउने उद्देश्यले सैनिक आवासीय महाविद्यालयले आफ्नो मल्टिपर्पस कभर्ड हल उपलब्ध गराएर विभिन्न तेक्वान्दो डोजाङका खेलाडीहरूलाई सामूहिक ग्रेडिङमा सहभागी हुने अवसर प्रदान गरेको थियो। महाविद्यालयको उक्त सहयोगले स्थानीय तथा जिल्लास्तरमा तेक्वान्दो खेलको विकासमा थप ऊर्जा प्रदान गरेको आयोजक पक्षले जनाएको छ।
कभर्ड हल उपलब्ध गराई कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा अतरिया तेक्वान्दो डोजाङ र केबीएन तेक्वान्दो डोजाङका तर्फबाट सैनिक आवासीय महाविद्यालयलाई कृतज्ञतासहित प्रशंसापत्र प्रदान गरिएको थियो। साथै महाविद्यालयको तर्फबाट ग्रेडिङ संयोजक शेरबहादुर सिंहलगायत कार्यक्रममा उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा अभिभावक, वरिष्ठ तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा शिक्षक–कर्मचारीहरूको उल्लेख्य उपस्थितिले खेलाडीहरूको उत्साह थप बढाएको थियो। विभिन्न तेक्वान्दो डोजाङबीचको सहकार्य, खेलाडीहरूको उत्साहजनक सहभागिता र सैनिक आवासीय महाविद्यालयको सहयोगका कारण कार्यक्रम विशेष आकर्षणको केन्द्र बनेको थियो।
१०५ जना जुनियर खेलाडीको सहभागिता रहेको उक्त सामूहिक ग्रेडिङ कार्यक्रमले तेक्वान्दो खेलको विकाससँगै अनुशासन, मर्यादा र खेलभावनाको सन्देशसमेत दिएको आयोजकले जनाएको छ। कार्यक्रमको समापन सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीका प्रिन्सिपल शिवेश्वर पन्तप्रकाशले गर्नुभएको थियो।

































