
अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुई सैन्य अड्डामा हमला गरेको छ। अमेरिकी अधिकारीले हमलाको पुष्टि गर्दै जुलाईपछि इरानमाथि गरिएको यो पहिलो ज्ञात अमेरिकी सैन्य कारबाही भएको बताएका छन्।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ बिछ्याउने तथा रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि कारबाही गरिएको हो। आईआरजीसीले अमेरिकी हमलामा केही मानिस मारिएको र केही घाइते भएको जनाएको छ।
आईआरजीसीले अमेरिकाविरुद्ध ‘जवाफी कारबाही र सजाय’ दिने चेतावनीसमेत दिएको छ। त्यसपछि इरानी सरकारी सञ्चारमाध्यमले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामाथि आईआरजीसीले हमला गरेको दाबी गरेका छन्। यद्यपि, यसबारे अमेरिकी सेन्ट्रल कमान्डको प्रतिक्रिया सार्वजनिक भएको छैन।


जोर्डनको सेनाले भने आफ्नो हवाई प्रतिरक्षा प्रणालीले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेका आठ क्षेप्यास्त्र रोकेको जनाएको छ।
यसअघि जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए। पछिल्लो घटनाक्रमले अमेरिका–इरान तनाव पुनः चर्किन सक्ने देखिएको छ। साथै, विश्वको महत्त्वपूर्ण सामुद्रिक मार्ग होर्मुज जलडमरूमध्यमा सुरक्षा चुनौती बढ्ने चिन्ता गरिएको छ।






























