केरुङमा भारी वर्षाको सम्भावना, पहिरो जोखिम बढेपछि ‘येलो अलर्ट’

Image
Nisarga Hospital

चीनको दक्षिण–पश्चिम सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) अन्तर्गत केरुङ (ग्याइरोङ) काउन्टीमा आगामी केही दिन विशेषगरी रातिको समयमा वर्षा बढ्ने सम्भावना रहेको चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ। मौसम पूर्वानुमानअनुसार आइतबारदेखि सोमबारसम्म हल्कादेखि मध्यम वर्षा तथा मंगलबार राति मध्यमदेखि भारी वर्षा हुनसक्ने बताइएको छ।

गत अगस्ट २६ मा चीन–नेपाल सीमावर्ती केरुङ नाकामा पहिरो गएपछि उद्धार तथा राहत कार्य तीव्र भइरहेका बेला थप वर्षाको पूर्वानुमान सार्वजनिक भएको हो। लगातारको वर्षाले पहिरो तथा अन्य भूगर्भीय विपद्को जोखिम थप बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्राकृतिक स्रोत मन्त्रालय र चीन मौसम विज्ञान प्रशासनले आइतबार साँझ संयुक्त रूपमा भूगर्भीय विपद् जोखिमसम्बन्धी ‘येलो अलर्ट’ जारी गरेका छन्। चीनको चार तहको चेतावनी प्रणालीमा येलो अलर्ट तेस्रो स्तर हो। चेतावनीअनुसार आइतबार राति ८ बजेदेखि सोमबार राति ८ बजेसम्म केरुङसहित दक्षिणी सिजाङका केही क्षेत्रमा भूगर्भीय विपद्को जोखिम उच्च रहनेछ।

मौसम अधिकारीहरूले आगामी केही दिन केरुङ नाका क्षेत्रमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। वर्षाका कारण सडक चिप्लो तथा यात्रा जोखिमपूर्ण हुनसक्ने भएकाले शिगात्सेदेखि केरुङ र केरुङदेखि नाकातर्फ जाने सडकमा सञ्चालन हुने उद्धार तथा राहतका सवारीसाधनका चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

पहिरोपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम जारी रहेकाले मौसममा आएको प्रतिकूलताले उद्धार अभियानमा थप चुनौती सिर्जना गर्न सक्ने आकलन गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायले अवस्था निरन्तर निगरानी गरिरहेका छन्।

CP Hospital Dhangadhi