
नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा भीषण बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव भेटिएको छ। खोजी तथा उद्धारका क्रममा सुरक्षाकर्मीको टोलीले सोमबार उक्त घरबाट ६ वटा शव बाहिर निकालेको छ भने बाँकी १६ वटा शव मंगलबार निकाल्ने तयारी गरिएको छ।

बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावती बजार तहसनहस बनाएको थियो। बाढी आएको छैटौँ दिनपछि सोमबार लेदो र माटोले पुरिएको घरभित्र एकै ठाउँमा ठूलो संख्यामा शव भेटिएको हो।
बाढीका बेला ती व्यक्तिहरू सुरक्षित हुने आशामा उक्त घरमा भेला भएको हुन सक्ने अनुमान गरिएको छ। तर, भेटिएका अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताइएको छ।


जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीले पुरिएको घरभित्र ठूलो संख्यामा शव भेटिएको पुष्टि गर्दै बाँकी शव निकाल्ने काम जारी रहने बताएका छन्।
यसअघि स्थानीय पत्रकार लक्ष्मण डंगोलले उक्त घरमा तत्काल खोजी गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्म उद्धारका लागि आग्रह गरिएको बताएका थिए।































