
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सरकारले पर्याप्त प्राथमिकता नदिएको परिवारजनले गुनासो गरेका छन्।

नेपाल इन्जिनियर्स एसोसिएसनको ललितपुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा इन्जिनियर तथा प्राविधिकका आफन्तहरूले राज्यको उद्धार प्रणालीप्रति असन्तुष्टि जनाएका हुन्। अन्य क्षेत्रमा खोज तथा उद्धार तीव्र भए पनि सुरुङ र पावरहाउसमा अड्किएका नागरिकको उद्धारमा प्रभावकारी काम हुन नसकेको उनीहरूको आरोप छ।
बाढीपछि सम्पर्कविहीन इन्जिनियर निरजबाबु रेग्मीका काका यमलाल रेग्मीले ६ दिनदेखि विभिन्न सरकारी निकायमा हारगुहार गर्दा पनि अपेक्षित सहयोग नपाएको बताए। सुरुङमा बेल्चा बोकेर मात्र उद्धार गर्न नसकिने भन्दै उनले आवश्यक उपकरण र विदेशी विशेषज्ञको सहयोग लिएर भए पनि उद्धार प्रभावकारी बनाउन माग गरे।


यसैगरी नारायणी जोशीले आफ्ना श्रीमान्सहित नेपाल विद्युत् प्राधिकरणका ४० जना कर्मचारी त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावरहाउसमा उद्धारको पर्खाइमा रहेको बताइन्। पावरहाउस तुलनात्मक रूपमा सुरक्षित रहेको जानकारी पाएपछि आफन्तहरू आफ्ना मानिस जीवितै रहेको आशामा उद्धारको प्रतीक्षा गरिरहेका छन्।
बाढी आएको ६ दिन बितिसक्दा पनि सम्पर्क हुन नसक्दा परिवारजनमा चिन्ता र आक्रोश बढेको छ। उनीहरूले तत्काल उद्धारलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।































