धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीलाई स्थानीय विकासमै व्यावहारिक सिकाइ

Image
Nisarga Hospital

उच्च शिक्षालाई व्यावहारिक, सीपमूलक तथा समाजमुखी बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कैलाली बहुमुखी क्याम्पसबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

CP Hospital Dhangadhi

समझदारी अनुसार कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले धनगढी उपमहानगरपालिकाका स्थानीय विकास, योजना कार्यान्वयन तथा समाजसेवा सँग सम्बन्धित क्षेत्रमा इन्टर्नसिप र व्यावहारिक सिकाइको अवसर पाउनेछन् ।

क्याम्पसले धनगढी उपमहानगरपालिका–९ स्थित पार्वती आधारभूत विद्यालयलाई ‘एडप्ट स्कुल’ का रूपमा विकास गर्न सहयोग गर्ने भएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षण सिकाइमा सहजीकरण तथा आवश्यक प्राविधिक सहयोगमा क्याम्पसले भूमिका निर्वाह गर्ने समझदारी भएको हो ।

nawajiwan
Attariya Hospital

त्यस्तै, सूचना प्रविधिको प्रयोगलाई वडा तहसम्म प्रभावकारी बनाउन क्याम्पसमा अध्ययनरत बीएससी सीएसआईटी र बीआईटीका विद्यार्थीलाई उपमहानगरपालिकाका विभिन्न वडा कार्यालयमा प्रयोगात्मक कार्यका लागि खटाइने भएको छ ।

वडा कार्यालयमा खटिने विद्यार्थीले सूचना प्रविधिसम्बन्धी काममा प्रयोगात्मक अनुभव हासिल गर्नुका साथै स्थानीय तहका सूचना प्रविधि प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । समझदारीले विद्यार्थीको नेतृत्व क्षमता, व्यावसायिक दक्षता र व्यवहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै विश्वविद्यालयमा हासिल गरेको ज्ञानलाई समुदायको आवश्यकता र स्थानीय विकाससँग जोड्ने अवसर सिर्जना गर्ने जनाइएको छ ।

स्थानीय तह र शैक्षिक संस्थाबीचको सहकार्यले ‘हाम्रो धनगढी, हामी बनाउँछौँ’ अभियानलाई थप प्रभावकारी बनाउने तथा स्थानीय विकास प्रक्रियामा युवा जनशक्तिको प्रत्यक्ष सहभागिता बढाउने अपेक्षा गरिएको छ । धनगढी उपमहानगरपालिका र कैलाली बहुमुखी क्याम्पसबीचको समझदारीले शिक्षण संस्थाबाट उत्पादित जनशक्तिलाई स्थानीय विकासको अभ्याससँग जोड्नुका साथै स्थानीय तह र विश्वविद्यालयबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।