
रसुवामा आएको आकस्मिक बाढीले बगाएको नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भारत सरकारले पुनर्निर्माण गरिदिने भएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग कुराकानी गर्दै विद्यालय पुनर्निर्माणको प्रतिबद्धता जनाएका हुन्।

गत साता आएको भीषण बाढीले त्रिशूली बजारमा रहेको विद्यालयको भवन पूर्णरूपमा बगाएको थियो। बाढी आउनुअघि नै प्रधानाध्यापक दवाडीले सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको थियो।

त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको स्थापना सन् १९५० को दशकमा त्रिशूली जलविद्युत् आयोजना निर्माणका क्रममा भारतीय सहयोगमा भएको थियो। विद्यालयको नयाँ भवनसमेत सन् २०२२ मा भारतकै एचआईडीपी कार्यक्रमअन्तर्गत निर्माण गरिएको थियो।

बाढीले विद्यालयको संरचना नै बगाएपछि भारतीय राजदूत श्रीवास्तवले प्रधानाध्यापक दवाडीसँग विद्यालय पुनर्निर्माण भारत सरकारले नै गर्ने आश्वासन दिएका हुन्। विद्यालय पुनर्निर्माणसँगै बाढीका कारण प्रभावित विद्यार्थीको पठनपाठनलाई सहज बनाउने अपेक्षा गरिएको छ।































