
महाकाली नदीमा पानीको बहाव खतराको तहभन्दा तल नझरेपछि कञ्चनपुरको शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनमा लगाइएको रोक बुधबार पनि कायमै रहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार पानीको बहाव २ लाख ९७ हजार क्युसेक पुगेपछि बिहानदेखि आवागमन रोकिएको थियो। बुधबार बिहान पानीको सतह घटेर २ लाख ५५ हजार २८४ क्युसेक पुगे पनि जोखिम कायम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महाकालीमा पानीको बहाव १ लाख क्युसेकभन्दा माथि पुगेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ। ब्यारेजले कञ्चनपुरलाई भारतको वनबासासँग जोड्छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले नदीको बहाव क्रमशः घटिरहेको जानकारी दिए। उनका अनुसार पहाडी क्षेत्रमा थप वर्षा नभए पानीको सतह अझ घट्ने र बुधबार दिउँसोसम्म ब्यारेजमा सवारी आवागमन पूर्ण रूपमा खुलाउन सकिने सम्भावना छ।

प्रहरीले नदीको बहाव र मौसमको अवस्था हेरेर मात्र ब्यारेज सञ्चालन गर्ने जनाएको छ। यात्रुलाई जोखिम नलिन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।































