
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन भारतले पाँचौँ लटको मानवीय सहायता नेपाल पठाएको छ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले बुधबार बिहान सामाजिक सञ्जालमार्फत विशेष उद्धार उपकरणसहितको ११ सदस्यीय उद्धार तथा खोजी टोली र ५.५ टन अत्यावश्यक औषधि बोकेको विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्।
उनका अनुसार बाढीपहिरोबाट प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाउन भारतले आवश्यक उपकरण, औषधि तथा प्राविधिक जनशक्ति उपलब्ध गराएको हो। भारतीय सहयोगमा उद्धार तथा खोजी कार्यका लागि आवश्यक विशेष उपकरणसमेत समावेश गरिएको छ।


यसअघि भारतले भदौ १४ गते बाढी प्रभावितका लागि ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो खेप नेपाल पठाएको थियो। त्यसअघि पनि भारतले विभिन्न चरणमा राहत सामग्री तथा उद्धारसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ।
भोटेकोशी बाढीपछि रसुवासहित प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणको काम तीव्र पारिएको छ। विपद्को कठिन अवस्थामा भारतसहित विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायले नेपाललाई राहत, उद्धार सामग्री, औषधि र प्राविधिक सहयोग उपलब्ध गराइरहेका छन्। पछिल्लो सहयोगले प्रभावितको उद्धार तथा राहत व्यवस्थापनमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।































