
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भदौ मसान्तभित्रै प्रदेशको नयाँ बजेट ल्याउने घोषणा गरेका छन्। बजेटविहीनताको लामो अवस्था अन्त्य गर्न चौबिसै घण्टा काम गरेर भए पनि फास्ट ट्र्याकमार्फत नयाँ बजेट ल्याउने उनले बताएका हुन्।

बुधवार नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले विगतका बेथिति र कमजोरी सच्याउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट पुनर्लेखन गरिने बताए। जनताको वास्तविक आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर जनजीविकासँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई प्राथमिकता दिइने उनको भनाइ छ।

उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र पर्यटनलगायत क्षेत्रलाई प्राथमिकतामा राख्दै देखिने तथा महसुस गर्न सकिने परिवर्तन ल्याउने गरी बजेट निर्माण गरिने बताए। दुर्गम तथा सीमान्तकृत समुदायका आवश्यकता र योजनालाई समेत प्राथमिकताका साथ सम्बोधन गरिने उनले स्पष्ट पारे।

मुख्यमन्त्री भट्टले दैजी–जोगबुढा सडकसहित प्रदेशका रणनीतिक योजनालाई प्राथमिकताका साथ अघि बढाउने जानकारी दिए। साथै, चालु आर्थिक वर्षदेखि प्रदेश राजधानी निर्माणको काम सुरु गर्ने घोषणा गरे।
राजधानी निर्माणलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नराखी सुदूरपश्चिमको मौलिकता, पहिचान र सम्भावनालाई स्थापित गर्ने अभियानका रूपमा अघि बढाइने उनले बताए। नयाँ बजेटले विगतका कमजोरी सच्याउँदै प्रदेश विकासमा नयाँ आयाम थप्ने उनको दाबी छ।































