
कैलाली उद्योग वाणिज्य संघले नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको बैठकले विपद्को यस कठिन घडीमा पीडितको सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको निष्कर्ष निकाल्दै उक्त रकम सरकारी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
बैठकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र उद्धार, उपचार र राहत व्यवस्थापनका लागि सम्बन्धित सबै पक्षलाई प्रभावकारी रूपमा जुट्न आग्रह गरेको छ।


यसैबीच, बाढीबाट प्रभावित सुदूरपश्चिम प्रदेशका नागरिक तथा ज्यान गुमाएका परिवारलाई विशेष प्राथमिकतामा राखेर राहत उपलब्ध गराउने प्रतिबद्धता पनि संघले जनाएको छ। सरकारी निकाय वा प्रशासनबाट आधिकारिक तथा वास्तविक तथ्यांक प्राप्त भएपछि बाढीका कारण आफ्नो सहारा गुमाएका सुदूरपश्चिमका विपन्न परिवारलाई लक्षित गरी राहत सहयोग प्रदान गरिने बताइएको छ।
संघले तीनै तहका सरकार, सुरक्षा निकाय, व्यवसायी, सामाजिक संघसंस्था तथा नागरिक समाजलाई खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कार्यमा आआफ्नो क्षेत्रबाट सक्रिय रूपमा जुट्नसमेत अपिल गरेको छ।































