बैतडीमा जिप दुर्घटना : ७ जना घाइते, चालक फरार

Image
Nisarga Hospital

बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। बुधबार साँझ करिब साढे ५ बजे जिल्लाको सुर्नया गाउँपालिका–२ लिस्किटामा जिप दुर्घटनामा परेको हो।

CP Hospital Dhangadhi

जिल्लाको सतबाजबाट रामकीबरायलतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०३–०१ च ९३६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनाका बेला जिपमा ११ जना सवार थिए। तीमध्ये सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

दुर्घटनामा सुर्नया गाउँपालिका–२ का ६५ वर्षीय हजारी बिष्ट, ३१ वर्षीया सुशीला भण्डारी र ७ वर्षीया दिप्ती बिष्ट घाइते भएका छन्। यस्तै, सुर्नया–६ रिगाकी २० वर्षीया दिपिका कुँवर, सुर्नया–५ स्वालीका ३० वर्षीय हरिस विक, ४३ वर्षीय तिलक चन्द र ३० वर्षीय दिपक चन्द पनि घाइते भएका छन्।

nawajiwan
Attariya Hospital

घाइते सबैलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने हजारी बिष्टको अवस्था मध्यम रहेको बताइएको छ।

दुर्घटनापछि जिप चालक सुर्नया गाउँपालिका–५ रौलेश्वरका २८ वर्षीय रोशन बिष्ट भने फरार भएका छन्। प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धानसमेत भइरहेको प्रहरीको भनाइ छ।