
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल नेपालभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर आसपास रहेको विभागले जनाएको छ।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। देशभर सामान्यतया बदली रहने र हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
कोसी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सावधानी अपनाउन विभागले सुझाव दिएको छ।


राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकीका हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुनसक्ने विभागको अनुमान छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा समेत थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। तराईका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।































