
रमेश बहादुर सिंह/ बझाङः रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि देश विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग जुटाउने क्रम जारी छ।

यसैक्रममा बझाङको दुर्गाथली गाउँपालिका–५ का युवा जेम्स क्षेत्रीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
देशमा विपद् परेको अवस्थामा आफूले सकेको सहयोग गर्नु नागरिकको दायित्व भएको भन्दै क्षेत्रीले उक्त रकम सहयोग गरेका हुन्। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारमा आफ्नो तर्फबाट केही योगदान गर्न पाउँदा खुसी लागेको उनले बताएका छन्।


प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ठूलो स्रोत आवश्यक पर्ने अवस्थामा व्यक्तिगत रूपमा गरिएको सहयोगले पनि महत्वपूर्ण अर्थ राख्ने गर्दछ। क्षेत्रीले गरेको आर्थिक सहयोगले विपद्मा परेका नागरिकको राहतमा केही योगदान पुग्ने अपेक्षा गरिएको छ।
रकमको आकारभन्दा पनि विपद्को कठिन समयमा देखाइएको मानवीय भावना र सहयोगी सोच महत्वपूर्ण हुने भएकाले जेम्स क्षेत्रीको यो सहयोग प्रशंसनीय रहेको स्थानीयहरूले बताएका छन्।































