
समुद्री बरफ तीव्र गतिमा पग्लिँदै गएपछि एसिया र युरोपबीच व्यापारका लागि आर्कटिक क्षेत्र हुँदै जाने उत्तरी समुद्री मार्गप्रति चासो बढेको छ। चीनको सानो समुद्री यातायात कम्पनी सी लेजेन्डले अगस्टको मध्यदेखि आर्कटिक वृत्त हुँदै एसियालाई युरोपसँग जोड्ने नियमित कन्टेनर सेवा सुरु गरेको छ।

कम्पनीको ‘दुबई टावर’ नामक १७५ मिटर लामो जहाज अगस्ट १५ मा चीनको निङ्बोबाट बेलायततर्फ प्रस्थान गरेको थियो। आर्कटिक क्षेत्रमा तीव्र हावा, बाक्लो कुहिरो, हिमआँधी र समुद्री बरफका कारण यात्रा जोखिमपूर्ण मानिन्छ। यद्यपि अगस्टको मध्यदेखि अक्टोबरको सुरुसम्म हरेक साता एक जहाज सञ्चालन गर्ने योजना बनाइएको छ।
नर्वेको सेन्टर फर हाई नर्थ लजिस्टिक्सका अनुसार निङ्बोदेखि बेलायतको फेलिक्सस्टोसम्म उत्तरी समुद्री मार्गबाट यात्रा करिब २० दिनमा पूरा गर्न सकिन्छ। दूरी करिब ७ हजार ८५० समुद्री माइल छ। स्वेज नहर हुँदै यही यात्रा करिब २७ दिन लाग्ने र बन्दरगाहमा रोकिँदा ४० देखि ५० दिनसम्म पुग्न सक्ने बताइएको छ।

दक्षिण कोरियाले पनि अगस्ट २२ मा बुसानबाट ‘प्यानस्टार एक्रो’ जहाजलाई परीक्षण यात्रामा पठाएको छ। विज्ञहरूका अनुसार आगामी १५–२० वर्षमा आर्कटिकमा बरफ घट्दै गए यो मार्ग एसिया–युरोप व्यापारका लागि समय र इन्धन बचत गर्ने वैकल्पिक मार्ग बन्न सक्छ।
तर व्यावसायिक सम्भावनासँगै चुनौती पनि छन्। आर्कटिक मार्गमा चल्ने जहाज विशेष रूपमा बलियो संरचनाका हुनुपर्नेछ। साथै बन्दरगाह सीमित भएकाले व्यापारिक आम्दानी प्रभावित हुन सक्छ। आर्कटिकमा चल्ने जहाजले ठूला कन्टेनर जहाजको तुलनामा निकै कम सामान बोक्न सक्छन्।

यस मार्गको अर्को महत्वपूर्ण चुनौती रुसको नियन्त्रण र पश्चिमी प्रतिबन्ध हो। उत्तरी समुद्री मार्ग प्रयोग गर्ने जहाजले रुसी सरकारी कम्पनी रोसाटोमबाट अनुमति लिनुपर्छ। रुसी बन्दरगाहमा इन्धन भर्दा वा आइसब्रेकरको सहायता लिँदा प्रतिबन्धसम्बन्धी जोखिम बढ्न सक्छ। उच्च बीमा शुल्क पनि व्यवसायका लागि चुनौती बनेको छ।
त्यसैगरी, दुर्घटना वा तेल चुहावट भए वातावरणीय क्षति गम्भीर हुनसक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अत्यधिक चिसोका कारण तेल ढिलो विघटन हुने र उद्धार पूर्वाधार कमजोर भएकाले दुर्घटनाको अवस्थामा जोखिम अझ बढ्ने बताइएको छ। आर्कटिक क्षेत्रमा हाल सीमित उद्धार केन्द्र र आपत्कालीन पूर्वाधार रहेकाले ठूला समुद्री कम्पनीहरू अझै यो मार्गप्रति सावधान छन्।
यसरी जलवायु परिवर्तनले नयाँ समुद्री मार्गको सम्भावना बढाए पनि व्यापारिक लाभ, सुरक्षा, वातावरणीय जोखिम, रुसको नियन्त्रण तथा भूराजनीतिक प्रतिबन्धका कारण आर्कटिक मार्ग तत्कालै स्वेज नहरको पूर्ण विकल्प बन्ने अवस्था भने देखिँदैन।
ला मोन्डबाट































