सुरुङ उद्धारमा उपकरण तत्काल पुर्‍याउन प्रधानमन्त्रीलाई कुलमानको सुझाव

Image
Nisarga Hospital

प्रधानमन्त्री बालेन शाहले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग बाढीपछिको खोज, उद्धार तथा राहत कार्यबारे सुझाव लिएका छन्। बिहीबार सिंहदरबारमा भएको भेटमा घिसिङले विशेषगरी सुरुङभित्र फसेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन तत्काल आवश्यक उपकरण र जनशक्ति परिचालन गर्नुपर्ने सुझाव दिएका हुन्।

घिसिङका अनुसार सुरुङ उद्धारका लागि छुट्टै असाधारण प्रविधि आवश्यक नपर्ने भए पनि जेसीबी, एक्स्काभेटर, ड्रिलिङ मेसिनलगायत उपकरण घटनास्थलमा छिटो पुर्‍याएर डेब्रिज हटाउनुपर्ने आवश्यकता छ। उद्धारका लागि दक्ष टोलीसमेत तत्काल परिचालन गर्नुपर्ने उनको भनाइ छ।

बाढीपछि आवश्यक सामग्री तथा जनशक्ति परिचालनमा केही ढिलाइ भएको उल्लेख गर्दै घिसिङले उपलब्ध नेपाली हेलिकप्टरलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने र आवश्यकता परे विदेशबाट समेत हेलिकप्टर तथा अन्य साधन ल्याउनुपर्ने सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले आवश्यक स्रोतसाधन परिचालन गरी उद्धार तथा राहतलाई तीव्रता दिने प्रतिबद्धता जनाएको उनले बताए।

घिसिङले सडक सञ्जाल पुनःस्थापनालाई तत्काल प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। विशेषगरी स्याफ्रुबेँसीसम्म सडक जोड्न आवश्यक स्थानमा बेलिब्रिज निर्माण तत्काल अघि बढाउनुपर्ने उनको सुझाव छ। सडक सञ्चालनमा आए राहत सामग्री ढुवानी र उद्धार कार्य सहज हुने उनले बताए।

त्यस्तै, प्रभावित क्षेत्रमा शव व्यवस्थापनमा भएको ढिलाइ, होल्डिङ सेन्टरमा रहेका नागरिकको स्वास्थ्य तथा सामाजिक सुरक्षा र बालबालिकाको व्यवस्थापनबारे पनि प्रधानमन्त्रीसँग छलफल भएको घिसिङले जानकारी दिए।

नेपालमा विपद् सामना गर्ने पूर्वतयारी पर्याप्त नभएको स्वीकार गर्दै उनले यसपटकको विपद् असाधारण ठूलो भएकाले देखिएका कमजोरी सुधार्दै सबै निकाय एकताबद्ध भएर उद्धार, राहत र पुनःस्थापनामा जुट्नुपर्ने बताए।

CP Hospital Dhangadhi